कोरोना रोकथाम र नियन्त्रणमा चुस्त दुरुस्त बन्न सांसदको सुझाव

कोरोना रोकथाम र नियन्त्रणमा चुस्त दुरुस्त बन्न सांसदको सुझाव
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं– सांसदहरुले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढीरहँदा भारतीय सीमा र तराईका जिल्लामा परीक्षण किटको अभाव भएको भन्दै उनीहरुले आवश्यक स्वास्थ्यसामाग्री आपुर्तिको व्यवस्थालाई चुस्त दुरुस्त राख्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्वारेन्टाइन र आईसोलेसनको संख्या बढाउनुको साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनलाई व्यवस्थित बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद बिमला बिकले बर्दियामा कोरोना भाइरस परीक्षण गर्ने सामाग्री अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन । उनले तराईका जिल्लामा क्वारेन्टाइन, आइसोलसन र परीक्षण बढाउनुको साथै बर्दिया जिल्लामा कोरोना विशेष अस्पताल बनाउन पनि माग गरिन ।

सांसद भिमसेनदास प्रधानले काठमाण्डौका नाकामा रातभर आवतजावत भईरहेको भन्दै नाका सिलगरि काठमाडौंमा क्वारेन्टाइन क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद भैरवबहादुर सिंहले विश्व स्वास्थ्य संगठनले जारी गरेको मुल्य मान्यता विपरित क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतले लखेट्ने काम गरेको तथा भारतबाट फर्किएकालाई राख्नका लागि सिमा जिल्लामा क्वारेन्टाइन अभाव भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्ला कोरोना भाइरस परीक्षण किटको अभाव भएको भन्दै तत्काल आवश्यक किटको व्यवस्थापन गर्न माग गरे । सांसद रंगमती शाहीले सांसद विकास कोषको रकम स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री खरिदमा लगाउन आग्रह गरिन ।

सांसद रविन्द्रराज शर्माले पीसीआर मेसिन र परीक्षण किटको सिघ्र व्यवस्थापन गर्न सांसद विकास कोषको रकम खर्च गर्नुपर्ने बताए ।