मूलपानी क्रिकेट मैदानमा फेरि विवाद

मूलपानी क्रिकेट मैदानमा फेरि विवाद
बुधबार, जेष्ठ १४, २०७७

प्रसन्न ढुंगाना
काठमाडौं । एक दशकअघि नै निर्माण सम्पन्न हुनुपर्ने काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण सम्पन्न भएको छैन । मैदान निर्माणका क्रममा शुरु भएको विवाद अझै समाधान हुन सकेको छैन ।

सरकारले मैदानभित्र पर्ने जग्गा धनीलाई सट्टा जग्गा दिने निर्णय गरेको थियो । सोहीअनुसार लालपूर्जा पाए पनि जग्गा नपाएको भन्दै पीडितले मैदान छोड्न मानेका छैनन् ।

दुईवटा घर अझै पनि मुलपानी क्रिकेट मैदानभित्र छ । सरकारले सबै समस्या समाधान भएको बताइरहँदा मैदान परिसरमै घर भएका कारण मुलपानी क्रिकेट मैदानले पुर्णता पाउन सकेको छैन । दुईवटा घरका घरधनी आफ्नो व्यवस्थापन नभएसम्म पूरानो घर छाड्ने अवस्थामा छैनन् ।

मैदानको बीच भागमा कृष्ण लामा र कृष्णमाया तिमिल्सिनाको दुईवटा घर छ । क्रिकेट मैदानले अधिग्रहण गर्दै उनीहरुलाई उपलब्ध गराएको जग्गामा सुकुम्बासी रहेकाले आफूहरु पुर्नस्थापना हुन कठिन भएको गुनासो गर्छन ।

गत वर्ष मैदानमा परेको ५२ आना जग्गाका धनीलाई सरकारले सट्टा जग्गा दिने निर्णय गरेको थियो । क्रिकेट मैदान निर्माण शुरु हुनु अगावै सुकुम्बासीहरु सोही मैदानमा टहारा बनाएर बसेका थिए । सरकारले मैदान बनाउन अधिग्रहण गरेपछि सुकुम्बासीका प्रति परिवारलाई दुई लाख रुपैयाँ दिएर मैदानको छेउमा स्थानान्तरण गरेको थियो । तर, उनीहरु अहिलो सो स्थानबाट सर्न मानेका छैनन् । उनीहरुले क्षतिपूर्तिका साथै आफूहरुलाई बस्ने ठाउँको व्यवस्था मिलाइदिन माग गर्दै आएका छन् ।

सुकुम्बासीले उचित व्यवस्थापनको माग गरिरहेका बेला राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मुलपानी क्रिकेट मैदानभित्र कुनै विवाद नरहेको र चाँडै मैदान पूर्ण रुपमा अन्तराष्ट्रियस्तरमा सञ्चालनमा आउने दाबी गर्छन ।

खेलको प्रतिष्ठासँग जोडिएको मुलपानी क्रिकेट मैदान बनाउन सरकारले बजेट छुट्याएपनि विभिन्न बहानामा मैदान निर्माणमा ढिलाई हुँदा क्रिकेटप्रेमी निराश भएका छन् ।