कोरोनाका कारण ललितपुरमा एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कोरोनाका कारण ललितपुरमा एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललितपुरका ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे।

‘आज साँझ रोग नियन्त्रण महाशाखाबाट मलाई खबर आयो। मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण नतिजा पोजिटिभ आयो, त्यसैअनुसार शव व्यवस्थापनको तयारी गर्नुस् भनिएको छ,’ उनले भने, ‘हामीले शव अस्पतालमै राखेका छौं। भोलि कार्यविधिअनुसार शव व्यवस्थापनको काम हुन्छ।’

उनका अनुसार, मृत्यु भएका व्यक्ति कलेजोका बिरामी थिए। उनी जेठ ११ गते अस्पताल भर्ना भएका हुन्। उनको स्वाब यही जेठ १२ गते परीक्षणका लागि पठाइएकोमा आजर रिपोर्ट आएको हो ।

यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।