मूलपानी क्रिकेट मैदानमा फेरि विवाद

मूलपानी क्रिकेट मैदानमा फेरि विवाद
बिहिबार, जेष्ठ १५, २०७७

प्रशन्न ढुंगाना,काठमाडौँ । एक दशकअघि नै निर्माण सम्पन्न हुनुपर्ने काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण सम्पन्न भएको छैन । मैदान निर्माणका क्रममा शुरु भएको विवाद अझै समाधान हुन सकेको छैन ।

सरकारले मैदानभित्र पर्ने जग्गा धनीलाई सट्टा जग्गा दिने निर्णय गरेको थियो । सोहीअनुसार लालपूर्जा पाए पनि जग्गा नपाएको भन्दै पीडितले मैदान छोड्न मानेका छैनन् ।

मैदानको बीच भागमा कृष्ण लामा र कृष्णमाया तिमिल्सिनाको दुईवटा घर छ । क्रिकेट मैदानले अधिग्रहण गर्दै उनीहरुलाई उपलब्ध गराएको जग्गामा सुकुम्बासी रहेकाले आफूहरु पुर्नस्थापना हुन कठिन भएको उनीहरुको गुनासो छ ।

गत वर्ष मैदानमा परेको ५२ आना जग्गाका धनीलाई सरकारले सट्टा जग्गा दिने निर्णय गरेको थियो । क्रिकेट मैदान निर्माण शुरु हुनु अगावै सुकुम्बासीहरु सोही मैदानमा टहारा बनाएर बसेका थिए ।

सरकारले मैदान बनाउन अधिग्रहण गरेपछि सुकुम्बासीका प्रति परिवारलाई दुई लाख रुपैयाँ दिएर मैदानको छेउमा स्थानान्तरण गरेको थियो । तर, उनीहरु अहिलो सो स्थानबाट सर्न मानेका छैनन् ।

उनीहरुले क्षतिपूर्तिका साथै आफूहरुलाई बस्ने ठाउँको व्यवस्था मिलाइदिन माग गर्दै आएका छन् ।

तर सुकुम्बासीले उचित व्यवस्थापनको माग गरिरहेका बेला हालको अवस्थामा समेत मुलपानी क्रिकेट मैदानभित्र कुनै विवाद नरहेको र चाँडै मैदान पूर्ण रुपमा अन्तराष्ट्रियस्तरमा सञ्चालनमा आउने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाको दाबी छ ।