चुरोट र गुट्काको कर बढ्यो

चुरोट र गुट्काको कर बढ्यो
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं । सरकारले मदिरा र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा लिँदै आएको करका दर यसपटक यथावत राखेको छ।

कोरोनाका कारण उपभोग नै संकुचित भएका कारण करको दरमा हेरफेर नगरेको हो। कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा आपूर्ति प्रणाली नै प्रभावित भएको छ। त्यही कारण सरकारले करको दरमा धेरै ठूलो हेरफेर नगरेको हो।

बजेटमार्फत विदेशबाट आयात हुने मदिराको कच्चा पदार्थमा भने भन्सार केही बढाएको छ। यो भन्सार बढाउँदा आयातित माल्ट प्रयोग गरेर मदिरा उत्पादन गर्ने उद्योगलाई भने प्रभाव पर्नेछ। बजेटमार्फत विद्युतीय सवारी साधनको कर भने बढाइएको छ।

सरकारले विद्युतीय गाडीमा भन्सार लगायतका करमा छुट दिँदै आएको थियो। विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा राजस्वमै असर गरेपछि करको दर बढाइएको हो। भारतमा पनि चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको कर बढाइएको थियो।

सरकारले चुरोट, गुट्का र खैनीमा भने करको दर बढाएको छ।