इलेक्ट्रिक र हाइब्रिड कारमा ८० प्रतिशतसम्म भन्सार र अन्तशुल्क लाग्ने 

इलेक्ट्रिक र हाइब्रिड कारमा ८० प्रतिशतसम्म भन्सार र अन्तशुल्क लाग्ने 
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं-  इलेक्ट्रिक तथा हाइब्रिड कारमा ८० प्रतिशतसम्म भन्सार र अन्त:शुल्क लाग्ने भएको छ ।

नयाँ आर्थिक ऐन अनुसार अब इलेक्ट्रिक तथा हाइब्रिड कारमा ८० प्रतिशतसम्म भन्सार र अन्त:शुल्क लाग्ने भएको हो । यसअघि विद्युतीय सवारीमा सामान्य कर लगाएको सरकारले नयाँ आर्थिक ऐनमार्फत् व्यापक कर लगाएको छ।

विद्युतीय मोटरबाट धक्का दिने चारपांग्रे गाडीमा ३० प्रतिशत भन्सार र ५ प्रतिशत अन्त:शुल्क लगाइएको छ। विद्युतीय मोटरबाट धक्का दिने तीन पांग्रे सवारीमा ३० प्रतिशत भन्सार र ५ प्रतिशत अन्त:शुल्क लगाएको छ।

५० किलोवाटसम्मको कारमा ८० प्रतिशत भन्सार र ३० प्रतिशत अन्त:शुल्क लगाइएको छ। त्यस्तै मोटरको पिकपावर ५० देखि १०० किलोवाट ननाघेको कारमा ८० प्रतिशत भन्सार र ४० प्रतिशत अन्त:शुल्क लगाइएको छ।

१ सयदेखि १ सय ५० किलोवाटसम्मका कारमा भन्सार ८० प्रतिशत र ५० प्रतिशत अन्त:शुल्क लगाइएको छ। १ सय ५० देखि २ सयसम्ममा ८० प्रतिशत भन्सार र ६० प्रतिशत अन्त:शुल्क लाग्ने व्यवस्था गरिएको छ। २ सयदेखि ३ सयसम्ममा ८० प्रतिशत भन्सार र ७० प्रतिशत अन्त:शुल्क लगाइएको छ। त्यसैगरी ३ सय भन्दा बढी किलोवाटका कारमा ८० प्रतिशत भन्सार र त्यति अन्त:शुल्क नै भन्सार लाग्ने व्यवस्था बजेटमा गरिएको छ।

पिस्टन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएको, विद्युत शक्तिको बाह्य स्रोतमा प्लग जोडेर चार्ज हुनसक्ने किसिम बाहेकका सवारीमा अनएसेम्बल अवस्थाकामा ८० प्रतिशत भन्सार र ६० प्रतिशत अन्त:शुल्क लाग्ने व्यवस्था गरिएको छ।

पिस्टन इन्जिन (डिजेल र अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएको, विद्युत शक्तिको बाह्य स्रोतमा प्लग जोडेर चार्ज हुनसक्ने किसिमका कारमा ८० प्रतिशत भन्सार र ६० प्रतिशत अन्त:शुल्क लाग्ने व्यवस्था नयाँ आर्थिक ऐनमा गरिएको छ। धक्का दिने विद्युतीय मोटरमात्र भएको कारमा ८० प्रतिशत भन्सार र ४० प्रतिशत अन्त:शुल्क लाग्ने व्यवस्था गरिएको छ।