पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि ४५ जनालाई घर पठाइयो

पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि ४५ जनालाई घर पठाइयो
शुक्रबार, जेष्ठ १६, २०७७

खलंगा- जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका ४५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ।

भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए। उनीहरुको मंगलबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए।

‘सोमबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएकामा मंगलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टाइनबाट बिदाइ गरिएको छ’, उनले भने, ‘उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ।’

जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन निर्माण यहाँका आठवटै स्थानीय तहले गरेको प्राविधिक शिक्षालयमा १०० जनालाई राखिएको प्रशासनले जनाएको छ। पालिकाको एकीकृत क्वारेन्टाइनमा सुरुमा निर्माण गरेको ४३६ शय्याको क्वारेन्टाइनलाई थप गरी एक हजार शय्याको निर्माण गरिने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

यहाँका आठवटै स्थानीय तहले निर्माण गरेको कर्णाली प्रविधिक शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा भारतबाट दैनिक सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढेकाले क्वारेन्टाइन अहिले भरिभराउ छ। प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा १५६ र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टाइनमा २८ बसिरहेका छन्। दैनिकरूपमा जिल्ला भित्रिनेको सङ्ख्या बढिरहेकाले क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ।