नेकपाकै मन्त्रीले गरे बजेटको आलोचना, के भन्छन् अर्थविद ?

नेकपाकै मन्त्रीले गरे बजेटको आलोचना, के भन्छन् अर्थविद ?
शुक्रबार, जेष्ठ १६, २०७७

श्रीकृष्ण सुवेदी । सरकारले ल्याएको बजेटमाथि विज्ञहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । तर, नेकपाकै प्रदेश मन्त्रीहरुले भने चर्को आलोचना गरेका छन् । खासगरी बजेट वर्तमान अर्थतन्त्र सुहाउंदो नभएको र संघीयताको मर्म विपरित रहेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले सार्वजनिक टिप्पणी नै गरेका छन् ।

त्यसोत, सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि विज्ञहरुले मिश्रित प्रतिक्रिया दिएपनि नेकपाकै मन्त्रीहरुले भने आलोचना गरेका छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संघीय सरकारले ल्याएको बजेट संघीयताको मर्म र भावनाअनुसार नभएको बताएका हुन् ।

नेकपाको स्थायी कमिटि सदस्यसमेत रहेका मन्त्री गुरुङले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले ल्याएको बजेटमाथि कडा कटाक्ष गरेका हुन् । कोरोना भाइरसले निम्त्याएको संकटको समाधान र संघीयता कार्यान्वयनलाई बलियो बनाउने गरी बजेट आउन नसकेको गुरुङको दाबी छ । त्यस्तै, प्रदेश नम्बर २ ले पनि संघीय सरकारको बजेट संघीयताको मर्म विपरित भएको आरोप लगाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले कोरोना नियन्त्रण र अर्थतन्त्र उकास्ने बजेट भन्दा पनि पुरानै ढर्राको भएको टिप्प्णी गरे । बजेटले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने र निजी क्षेत्रलाई जगाउने काम नगर्ने भन्द्यै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान बढाउनुपर्नेमा सशर्त अनुदान पठाउने मोडललाई बढावा दिएको प्रति आपत्ति जनाए ।

तर, पूर्व अर्थसचिव रामेश्वर खनालले भने बजेट मध्यम प्रकारको रहेको बताएका छन् । बजेटमा राम्रा र नराम्रा पक्ष उत्किै रहेको उनको ठम्याई छ । बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घट्नु, २ खर्ब २५ अर्बको आन्तरिक ऋण उठाउने अनुमान, बजेटले समष्टिगत रूपमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्नु र यसपटक बजेटमा नाराहरू नसमेटिनु बजेटको सकरात्मक पक्ष रहेको विज्ञहरुको भनाई छ ।

तर, शिक्षा, पर्यटन र सञ्चार मन्त्रालयका धेरै कार्यक्रम दोहोरिनु, बजेटको आकार घटेपनि पुरानै कार्यक्रम निरन्तर हुनु र गत वर्ष बजेटमा भएको आयोजना व्यवस्थापन सुधारको कुरा यसपटक बजेटमा नपर्नु बजेटको नकरात्मक पक्ष रहेको विज्ञहरुले औंल्याएका छन् ।