आफन्तले क्वारेन्टाईनबाट जबरजस्ती घर लिएर गएका एक व्यक्तिलाई पुनः फर्काइयो

आफन्तले क्वारेन्टाईनबाट जबरजस्ती घर लिएर गएका एक व्यक्तिलाई पुनः फर्काइयो
शुक्रबार, जेष्ठ १६, २०७७

सप्तरी । क्वारेन्टाईनबाट आफन्तले जबरजस्ती घर लिएर गएका सप्तरीको एक ब्यक्तिलाई पुनः क्वारेन्टाईनमै फर्काइएको छ । क्वारेन्टाइनबाट आफन्तले घर लिएर गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का एक युवालाई गाउँलेहरुले सम्झाई बुझाई पुनः आज क्वारेन्टाईनमै फर्काएका हुन् ।

भारतको मुम्बईबाट ७ दिन अघि घर फर्केका २५ बर्षीय ईन्द्र नारायण चौधरीलाई ब्रहम्पुर स्थित जनता मा.वि. विद्यालयमा वडा कार्यालयद्वारा बनाईएको क्वारेन्टाईन केन्द्रमा राखिएको थियो ।

क्वारेन्टाईनमा स्वच्छ खानेपानी, साबुन, मास्क, सेनिटाईजर लगायतका सामग्री अभाव हुुनुका साथै एउटै फोहोर शौचालयमा धेरै जना जानु परिरहेको गुनासो आएपछि चौधरीका आफन्तले विहीबार साँझ् उनलाई जबजस्ती घर लिएर गएका थिए ।

तर छरछिमेक र स्थानीयले यसबाट झन कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सम्झाएपछि आफन्तले उनलाई शुक्रबार विहानै पुनः क्वारेन्टाईनमै बुझाएका हुन ।

चौधरीका आफन्तले क्वारेन्टाईनको व्यवस्थापन गर्ने जिम्मा पाएका वडा नंबर ७ का अध्यक्ष राम नारायण चौधरीले क्वारेन्टाईन व्यवस्थापनमा ध्यान नदिंदा अस्तव्यस्त बनेको गुनासो पनि गरेका छन् ।

क्वारेन्टाईनको भित्री अवस्था हेर्दा निरोगी मानिस पनि विरामी हुने भन्दै स्थानीयले अबिलम्ब उक्त क्वारेन्टाईनको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।