२५ हजार नेपालीलाई तत्काल उद्धार गर्ने उच्चस्तरीय समितिको निर्णय

२५ हजार नेपालीलाई तत्काल उद्धार गर्ने उच्चस्तरीय समितिको निर्णय
शनिबार, जेष्ठ १७, २०७७

काठमाडौँ — सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई १० दिनभित्र ल्याउने निर्णय गरेको छ ।

कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्‍ले यसअघि नै विदेशमा रहेका नेपालीलाई ल्याउने कार्यविधि पारित गरेको थियो ।

सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको बताएको छ । यसमध्ये प्राथमिकताको आधारमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलगायत परेका छन् ।

समितिका अुनसार युएइमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ ।