खाडी मुलुकहरुमा लकडाउन खुकुलो बनाइदै

खाडी मुलुकहरुमा लकडाउन खुकुलो बनाइदै
शनिबार, जेष्ठ १७, २०७७

काठमाडौं – लाखौँ नेपाली श्रमिक रहेको खाडी मुलुकहरूले लकडाउन खुकुलो बनाउदै लगेका छन् ।

खाडी मुलुकहरू साउदी, यूएई, कुवेत, ओमानलगायतका मुलुकहरूले विस्तारै आर्थिक गतिविधि सुरू गरेका छन् ।

कोरोना भाइरसको संक्रमणले महामारीको रूप नै लिएपछि कर्फ्यू नै जारी गरेका साउदी, कुवेत लगायतका मुलुक क्रमिकरूपमा खुल्न थालेका छन् ।

साउदीले विभिन्न चरणमा विभाजन गरेर दुई महिनादेखि जारी कर्फ्यूलाई खुकुलो बनाउँदै लगेको छ ।

पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाइएको छ ।

साउदीले दोस्रो चरणमा मे ३१ देखि जुन २० सम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गर्ने भएको छ ।

तेस्रो चरण अन्तरगत जुन २१ पछि साउदी सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा फर्कने तयारी गरेको साउदीका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यूएईको दुबईमा पनि लकडाउन खुकुलो बनाइएको छ । दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै दुबईमा जारी कर्फ्यूलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि कुवेतले लामो समयदेखि जारी गरेको कर्फ्यू केही खुकुलो बनाएको छ ।

कुवेतले लकडाउनलाई पाँच चरणमा पूर्णरूपमा हटाउदै पूर्ववत अवस्थामा फर्कने जनाएको छ । सबै चरणहरु तीन हप्ताका रहेका छन् । ओमानको मस्कट गभरनेट क्षेत्रको लकडाउन शुक्रबारदेखि हटाइएको छ ।