नेपालमै तयार भयो कोरोनाको खोप, परीक्षण गर्न उत्पादकको माग

नेपालमै तयार भयो कोरोनाको खोप, परीक्षण गर्न उत्पादकको माग
सांकेतिक तस्वीर
आइतवार, जेष्ठ १८, २०७७

मकवानपुर – हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा.डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका हुन्।

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा.दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिए ।

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबर्द्धक जडिबुटीबाट निर्माण गरिएको हो ।

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो ।

‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे । कलेजका प्रा.दामोदर गैरेले पनि डा.दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गरे ।

यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । संघीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने बुद्धिजीवी कृष्ण पाण्डेले माग गरे ।