विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश
आइतवार, जेष्ठ १८, २०७७

चितवन । जिल्ला अदालत चितवनले विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले शर्मालाई तत्काल हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना फेरी पक्राउ नगर्न समेत आदेश जारी गरेको हो । गत २३ वैशाखमा पक्राउ परेका नेता शर्मालाई रिहा गर्न आदेश दिदै अदालतले राज्यविरुद्धको अपराध हुने कुनै प्रमाण नदेखिएको भन्दै चिकित्सकको परामर्शविना अन्यत्र नलैजान र धरपकड समेत नगर्न भनिएको छ ।

प्रहरीले शर्माविरुद्ध अर्को जिल्लामा समेत मुद्दा दायर गरेको देखिएको भन्दै जिल्ला अदालत चितवनले शर्माका साथमा भेटिएको भनिएको विप्लव नेतृत्वको नेकपाको पर्चाकै आधारमा राज्यद्रोह भएको निष्कर्ष निकाल्न नमिल्ने आदेशमा भनिएको छ ।

‘आफ्ना आस्था अनुसारको राजनीतिक गतिविधिमा भाग लिन पाउनु र संगठन गर्न पाउनु प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हक अधिकार भित्रकै विषय हुँदा यी प्रत्यवादीलाई पनि त्यस किसिमको संबैधानिक अधिकारबाट बञ्चित गर्न मिल्ने अवस्था देखिएन,’ आदेशमा थप भनिएको छ, ‘नेपाल सरकारले नेकपा विप्लव माओवादीको ध्व‌ंसात्मक, विध्व‌ंसात्मक गतिविधिमा प्रतिबन्ध लगाएको अवस्था भएपनि पार्टी माथिको पूर्ण प्रतिबन्ध लगाएको भन्ने अवस्था संविधानतः पनि भन्न मिल्ने अवस्था देखिएन ।’

कुनै पनि व्यक्तिलाई राजनीतिक दलको कार्यकर्ता हुन पाउने संवैधानिक व्यवस्था रहेको र विप्लव नेतृत्वको नेकपाको ध्वंशात्मक गतिबिधिमाथि मात्रै सरकारले प्रतिबन्ध लगाएका तर राजनीतिक दलमाथि प्रतिवन्ध लगाउने व्यवस्था संविधानले समेत परिकल्पना नगरेको आदेशमा भनिएको छ ।

नेपालको संविधानको धारा २ सय ७० मा कुनै पनि राजनीतिक दलमाथि प्रतिवन्ध लगाउन नमिल्ने व्यवस्था रहेको छ । धारा २ सय ७० मा भनिएको छ,‘धारा २६९ बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ।’

जिल्ला अदालत चितवनले नेकपा नेता शर्मामाथिको अभियोग पुष्टि हुनेगरी कुनै प्रमाण नदेखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि चिकित्सकको परामर्शविना अब प्रहरीले शर्मालाई अर्को मुद्धाका विषयमा छानविन गर्न समेत नपाउने भएको छ ।

हेर्नुस आदेश