पहिलो संक्रमण पुष्टि भएको १५ दिनमा कर्णालीमा थप १२२ जना संक्रमित

पहिलो संक्रमण पुष्टि भएको १५ दिनमा कर्णालीमा थप १२२ जना संक्रमित
आइतवार, जेष्ठ १८, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो संक्रमण पुष्टि भएको १५ औँ दिनमा कुल संक्रमितको संख्या १२३ पुगेको छ ।

भारत तथा अन्य स्थानबाट घर फर्किएका मानिसमा कोरोनाभाइरस परीक्षणको दायरा बढाउँदै लगिएपछि कर्णाली प्रदेशमा सङ्क्रमण पुष्टि हुने क्रम बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।

गत जेठ ५ गते सोमवार पहिलो पटक कर्णालीमा कोभिड-१९ भएका व्यक्ति फेला परेको पुष्टि भएको १५ दिनभित्र अरू १२२ जना संक्रमित थपिएका छन् ।

शनिवार एकै दिन ६३ जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पुष्टि भएका संक्रमितहरू कालीकोट, सल्यान र बाजुराका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ३७ जनामा कोरानाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिएका छन् ।