बजेट कार्यान्वयनमा चुनौती रहेको नेकपाकै नेताको दावी

बजेट कार्यान्वयनमा चुनौती रहेको नेकपाकै नेताको दावी
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद सुरेन्द्र पाण्डेले बजेट महत्वकाक्षी नभएपनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७८को बजेट माथिको राजश्व र व्यय अनुमान माथिको सैद्धान्तिक छलफलमा सांसद पाण्डेले अहिलेको सम्पूर्ण परिस्थितिलाई ध्यानमा राख्दै आएको बजेट महत्वकाक्षी नभएको बताए ।

बजेका स्रोतहरुको अभावका कारण चालुु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थापनमा छुट्याइएको बजेट खुम्चिएको उनले बताए । चालु आर्थिक वर्षमा २८ प्रतिशत मात्रै खर्च भएकोले यसले कार्यान्वयन क्षमता कमजोर रहेको प्रष्ट पारेको उनले बताए ।

उनले आगामी आर्थिक वर्षमा कार्यान्वयनमा यस्तो अवस्था आउन नदिने गरी काम गर्नतर्फ ध्यान दिनुपर्ने बताए । बजेटमा ८ खर्ब ९० अर्ब राजश्व उठाउने र चालु खर्च ९ खर्ब ४९ करोड खर्च गर्ने उल्लेख भएको भएपनि झण्डै ६० अर्ब रुपैयाँले अझै चालु खर्च धान्ने अवस्था नभरहेको उनको भनाई छ ।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सत्तारुढ दलकै सांसदहरुले बजेटमाथि आशंका गर्दा यसको विश्वसनियता माथि नै प्रश्न उठेको बताए । आर्थिक वर्ष २०७७/०७८को बजेट माथिको राजश्व र व्ययको अनुमान माथिको सैद्धान्तिक छलफलमा उनले कोरोना महामारीबाट अर्थतन्त्रमा पार्ने प्रभावलाई सरकारले नजरअन्दाज गरेको बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई सरकारले गम्भिरताका साथ नलिएको उल्लेख गर्दै उनले यसका लागि कुनै पनि कुरा प्राथमिकतामा नराखेको बताए ।