लकडाउनको ७० दिन पुरा, संक्रमणको जोखिम उच्च

लकडाउनको ७० दिन पुरा, संक्रमणको जोखिम उच्च
सोमवार, जेष्ठ १९, २०७७

काठमाडौ । कोरोना भाईरस महामारी न्यूनिकरणको लागि सरकारले लागु गरेको लकडाउनले ७० दिन पुरा गरेको छ ।

गत वर्षको चैत ११ गते देखि जारी लकडाउनलाई सरकारले जेठ ३२ गतेसम्म बढाएको छ । तर, पछिल्ला दिन कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्ला केहि दिन यता संक्रमितको संख्या दैनिक ३ अंकको दरमा बढिरहेको छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै दोश्रो संक्रमित देखिएको भोलिपल्ट चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पांचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याइएको थियो ।

यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । सातौं चरणमा जेठ २० गतेसम्म लम्याईको लकडाउन आठौं चरणमा जेठ मसान्तसम्म लम्बिएको हो ।

यो अबधीमा सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । ती स्थान र संक्रमण बढेको क्षेत्रमा सेना परिचालित हुनेछ ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजनासमेत स्वीकृत गरिसकेको छ । सरकारले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएपनि उद्योगी व्यवसायी मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् ।

तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ । यस्तै धेरै संक्रमित थपिएसँगै थप त्रास र चिन्ता बढेको छ ।