बाँके दुर्घटना : मृतक र घाइते सबैको कोरोना नेगेटिभ

बाँके दुर्घटना : मृतक र घाइते सबैको कोरोना नेगेटिभ
सोमवार, जेष्ठ १९, २०७७

बाँके – बाँकेमा आइतबार राति भएको दुर्घटनामा मृत्यु भएका एवं घाइते सबै ३२ जनाकै कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ।

भेरी अस्पतालले सामाजिक सञ्जाल फेसबुकबाट दुर्घटनामा परेका ३३ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार १२ जना मृतक र २१ जना घाइतेको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

भारतका विभिन्न शहरमा काम गर्न गएका उनीहरु कोरोना संक्रमण त्रास बढेपछि नेपाल आएका थिए ।

नेपालगञ्ज जमुनाहा नाकाबाट नेपाल आएका उनीहरु सर्लाही जाने क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा दुर्घटनामा परेका थिए ।

भातरबाट आएका ३१ र चालक र सहचालकसहित ३३ जना सवार बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राति सवा ब्राह बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो ।