नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुग्यो

एकै दिन २२६ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुग्यो
सोमवार, जेष्ठ १९, २०७७

काठमाडौं – नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा. देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

नयाँ संक्रमितमा झापाका २ जना, दैलेखका ५८ जना, नवलपरासी पूर्वका ३ जना, जुम्लाका १९ जना, सुर्खेतका ५ जना, कपिलबस्तुका ४० जना, सल्यानका १० जना, रौतहटका १८ जना, बाँकेका ७ जना र धनुषाका ७ जना रहेका छन् ।

त्यस्तै दाङका ९ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीका ३८ जना, सिरहाका ५, उदयपुरका १ जना, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अहिले संक्रमित भएकामध्ये २२१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने १५ सय ६९ जनाको उपचार भइरहेको छ ।