धनकुटा अस्पताल पूर्णरुपमा सञ्चालन

धनकुटा अस्पताल पूर्णरुपमा सञ्चालन
मङ्लबार, जेष्ठ २०, २०७७

धनकुटा- अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गत जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएसँँगै बन्द रहेको जिल्ला अस्पताल धनकुटाको सेवा पूर्णरूपमा सञ्चालनमा आएको छ ।

आइतवार बसेको धनकुटा कोभिड–१९ कमाण्ड फोर्स र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला अस्पताल धनकुटालाई पूर्णरूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अस्पताल पूर्णरूपमा सञ्चालनमा आएसँगै प्रयोगशाला, प्रसूति तथा शल्यक्रिया कक्ष, ओपीडी विभाग, एक्सरे कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला, सीएचएल (बालबालिकालाई खोप लगाउने स्थान), सहुलियत औषधि पसल लगायत सेवा शुरू भएका छन् ।

जेठ ४ गते अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी र जेठ ६ गते थप ३ स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको परिवारका एक सदस्य गरी ७ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका व्यक्तिको विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

जेठ ११ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७ जना स्वास्थ्यकर्मीको टोली मगाएर अस्पताल बाहिर टेन्ट टाँगेर ओपीडी सेवा सञ्चालन गरिएको थियो । सोही दिन बजार क्षेत्र र अस्पतालमा सेनिटाइजर छर्किएर जेठ १२ गतेदेखि इमर्जेन्सी र प्रसूति कक्ष सञ्चालनमा ल्याइएको थियो ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्र अनुसार पूर्णरूपमा सञ्चालनमा आएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई समूहमा विभाजन गरी खटाइएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले बताए । दुई समूहलाई पालैपालो एक हप्ता अस्पतालमा एक हप्ता होम क्वारेन्टाइनमा राखिने पोख्रेलको भनाइ छ ।