राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि स्वीकृत, के छ कार्यविधिमा ?

राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि स्वीकृत, के छ कार्यविधिमा ?
मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका व्यवसायीलाई तत्काल २ खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बाटो खुला भएको छ ।

नेपाल राष्ट्र बैंकले त्यस्तो प्रावधान सहितको बहुप्रतिक्षित पुनर्कर्जा कार्यविधि स्वीकृत गरि सोमबार सार्वजनिक गरेको हो ।

उक्त कार्यविधि अनुसार अब १ वर्षका लागि बैंकहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण लिन पाइनेछ ।

उक्त कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम (एसएमई) पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी ३ भागमा वर्गिकरण गरेको छ ।

राष्ट्र बैंकको प्रावधान अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । सो कर्जाबापत बैंकहरुले ऋणीसँग ५ प्रतिशत ब्याज लिन पाउनेछन् । राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशत ब्याजदरमा त्यस्तो ऋण उपलब्ध गराउनेछ ।

त्यस्तै, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ ।

विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत र साधारण पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत हुनेछ । यस्तो ऋण राष्ट्र बैंकले बैंकहरुलाई क्रमशः १ प्रतिशत र ३ प्रतिशत उपलब्ध गराउनेछ ।