कोरोनाको कडा लक्षण देखिएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने

कोरोनाको कडा लक्षण देखिएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने
मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौँ — सरकारले कडा लक्षण देखिएका कोभिड–१९ संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने तयारी गरेको छ ।

संक्रमित भए पनि सामान्य लक्षण भएका व्यक्तिलाई भने अस्पतालबाहिरै आइसोलेसनमा राखेर निगरानी गर्ने भएको छ ।

संक्रमितको संख्या तीव्र गतिमा बढेपछि अस्पतालमा आइसोलेसन शय्याको अभाव हुने भन्दै सरकारले गम्भीर बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ संक्रमितलाई छुट्याएर व्यवस्थापन गर्नुपर्ने स्थिति आउन लागेको बताए ।

‘कोभिड–१९ का लक्षण भएका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘लक्षण नभएका संक्रमितलाई अन्तै आइसोलेसनमा राख्नेछौं ।’ हाल सरकारले संक्रमित सबैलाई कोरोना उपचारमा केन्द्रित अस्पतालमा भर्ना गर्दै आएको छ ।

मुलुकमा सोमबार कोभिड–१९ का २ सय ३७ जना संक्रमित थपिएका छन् । सोमबार बेलुकासम्म कुल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार नयाँ संक्रमित झापा, दैलेख, जुम्ला, मकवानपुर, अछाम, नवलपरासी, सुर्खेत, कपिलवस्तु, रौतहट, बाँके, दाङ, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, बैतडी, डोटी र कञ्चनपुरका छन् ।डोटी जिल्ला थपिएसँगै संक्रमण ५९ जिल्लामा फैलिएको छ ।