प्रदेश १ का १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज

प्रदेश १ का १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज
मङ्लबार, जेष्ठ २०, २०७७

धरान- प्रदेश–१ का १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन् । उनीहरुलाई सोमबार राति अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पलाले जानकारी दिएको हो ।

उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ ।

अब प्रतिष्ठानमा ८० संक्रमित र शंकास्पद ५ जना आइसोलेसनमा रहेको चिकित्सकले जनाएका छन्।