Sun Nov 27 2022
खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू प्रशिक्षणमा फर्किए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू लामो समयपछि प्रशिक्षणमा फर्किन थालेका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउन सरकारले खुकुलो पारेसँगै काठमाडौंमा रहेका खेलाडीहरुले व्यक्तिगत अभ्यास थालेका हुन् ।

तीन महिना भन्दा बढी गरिएको लकडाउन खुकुलो भएसँगै खेलाडीले किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्न थालेका हुन् । राष्ट्रिय टिमका सदस्यहरु शरद भेषवाकर, सन्दीप लामिछाने, पारस खड्का लगायतका खेलाडीले व्यक्तिगत अभ्यास सुरु गरेका छन् ।

गत चैतबाट लकडाउन जारी गरेको सरकारले यसै साताबाट लकडाउन खुकुलो बनाएको हो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेपछि अन्य जिल्लामा समेत खेलाडीहरू मैदानमा फर्किन थालेका छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले शनिबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै अभ्यासमा फर्किएको बताएका थिए ।

हालै नेपाल क्रिकेट संघले समेत सामाजिक दुरी र लकडाउनको गाइडलाइन पालना गर्दै खेलाडीको प्रशिक्षणका लागि सरकारसँग अनुमति मागेको थियो । तर, लकडाउन खुकुलो पारेपनि सरकारले खेलक्षेत्र बन्द रहने बताई सकेको छ ।

Tags :