युभेन्टस र नेपोली उपाधिका लागि भिड्दै

युभेन्टस र नेपोली उपाधिका लागि भिड्दै
बुधबार, असार ३, २०७७

काठमाडौं। कोपा इटालियाको फाइनल खेल आज हुँदैछ ।

इटालीको राजधानी रोममा हुने खेलमा उपाधिका लागि सिरी ए लिगका दुई बलिया टोली युभेन्ट्स र नेपोली आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि सेमिफाइनलमा युभेन्ट्सले एसी मिलानलाई १–१ को बराबरी भए पनि अवे गोलमा पछि पारेर फाइनल पुगेको थियो । नेपोलीले पनि इन्टर मिलानलाई २–१ ले पछि पारेर युभेन्ट्ससँग उपाधि भिडन्त पक्का गरेको हो ।

यो सिजन उपाधि भित्र्याउन नेपोलीका लागि कोपा इटालियाको फाइनल महत्त्वपूर्ण छ ।

जारी सिजन नेपोली घरेलु लिग ‘सिरी ए’ को अंक तालिकामा छैटों स्थानमा छ । युभेन्ट्स पनि यस सिजन तीनवटा प्रतियोगिताको उपाधि जित्ने होडमा छ । युभेन्ट्स ‘सिरी ए’ को शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको पनि अन्तिम १६ मा छ ।

कोपा इटालियाको उपाधि हालसम्म सबैभन्दा धेरै युभेन्ट्सले १३ पटक जितेको छ । उता, नेपोलीले यो उपाधि जम्मा पाँचपटक मात्र जितेको छ ।