साउदीको रियादबाट असार ७ मा अलपत्र नेपाली फर्काइँदै, यस्तो छ प्राथमिकतामा परेकाहरुको सूची

साउदीको रियादबाट असार ७ मा अलपत्र नेपाली फर्काइँदै, यस्तो छ प्राथमिकतामा परेकाहरुको सूची
बिहिबार, असार ४, २०७७

काठमाडौं- साउदीबाट असार ७ गते अर्थात आगामी आइतबार कोरोना महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने भएको छ ।

नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल एअरलाइन्सले आउँदो आइतबार अर्थात जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ ।

यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । स्वदेश फर्किनेहरुलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ । रिपोर्ट नेगेटिभ आएकाहरुलाई मात्र फर्काइने दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिने जनाएको छ ।

रियादबाट काठमाण्डौ आउनका लागि ४६५ अमेरिकी डलर अर्थात १७४४ साउदी रियाल तोकिएको छ ।

टिकट कम्पनीले नकाटिदिएमा आफ्नै खर्चमा काट्नु पर्नेछ । स्वदेश फर्कने यात्रु चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने र कोरोना सङ्क्रमण जोखिम कम हुने सबै सुरक्षाका उपायहरु अपनाउनु पर्ने जनाइएको छ ।