भ्यालेन्सियाविरुद्ध रियलको सहज जित

भ्यालेन्सियाविरुद्ध रियलको सहज जित
शुक्रबार, असार ५, २०७७

काठमाडौं- रियल मड्रिडले स्पानिस ला लिगामा सहज जित हात पारेको छ । करिम बेन्जिमाको दुई गोलको मद्दतमा बिहीवार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो ।

रियलले घरेलु मैदानमा सबै गोल दोस्रो हाफमा गरको थियो । खेलको अन्तिमतिर भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।

खेलको २१औं मिनेटमा भ्यालेन्सियाले अग्रता लिएको भएपनि गोलले मान्यता पाएन । रोडरिगो मोरेनोले गोललाई भिएआरले मान्यता दिएको थिएन।

६१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ७४औं मिनेटमा मार्को असेन्सिओले रियलको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३-० को अग्रता बनाएको हो ।

दोस्रो गोलपछि बेन्जामा रियलका लागि सर्वाधिक गोल गर्नेमा पाँचौ स्थानमा उक्लेका छन् । बेन्जिमाले फेरेन्च पुस्कासलाई पछि पार्दै माथि उक्लिएका हुन् । रियलका लागि क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ४५० गोल गरेका छन् । ८८औं मिनेटमा भ्यालेन्सिया कान इन ली रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी २ मा घटाएको छ र उपाधि होडलाई कायमै राखेको छ । रियलले २९ खेलबाट ६२ अंक जोडेको छ । लिडर बार्सिलोनाको समान खेलबाट ६४ अंक छ ।