बलात्कार आरोपमा झुठो मुद्धा हाल्ने महिलालाई कैद सजायको फैसला,अदालतमा वयान फेरेपछि ६३ हजार जरिवाना

अदालतमा वयान फेरेपछि ६३ हजार जरिवाना

बलात्कार आरोपमा झुठो मुद्धा हाल्ने महिलालाई कैद सजायको फैसला,अदालतमा वयान फेरेपछि ६३ हजार जरिवाना
आइतवार, असार ७, २०७७

चितवन । चितवन जिल्ला अदालतले बलात्कार आरोपमा मुद्धा हाल्ने एक युवतीलाई वयान फेरेपछि एक महिना कैद र  ६३ हजार रूपैया क्षतिपुर्तिवापतको रकम जरिवाना गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले बलात्कार भयो भनेर आफैले दिएको जाहेरीविपरित अदालतमा बकपत्र गर्ने (होस्टाइल बनेकी ) एक महिलालाई एक महिना कैद र उनकै जाहेरीको आधारमा ७ महिना देखी थुनामा रहेका प्रत्यबादीलाई क्षतिपुर्तिबापत ६३ हजार जरिवाना भराउनुपर्ने फैसला गरेको हो । आरोपित युवक अदालतको आदेशमा ७ महिना अघिदेखि (२ सय १० दिन) जेलमा बसेको र प्रतिदिन ३ सय रूपैयाका दरले हुन आउने बराबरको रकम क्षतिपुर्तिवापत महिलाले तिर्नुपर्ने अदालतले फैसला गरेको हो ।

चितवनको रत्ननगर नगरपालीका वडा नम्बर ६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत कार्तिक २७ गते बलात्कार  गरेको भन्दै युवतीले गत मंसीर १ गते जाहेरी दिएकी थिइन । जाहेरीको आधारमा पक्राउ परेका कास्कीका विवेक पंगेनी चितवन जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागी थुनामा थिए ।

१२ कक्षामा अध्ययनरत महिलाले अदालतमा वयान दिने क्रममा जबरजस्ती करणीको उद्ध्योग नगरेको र घटनास्थलको होटेलमा आफूहरू नगएको भनि जाहेरी ब्यहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन ।

तर उनको साथमा गएका अन्य २ जनाले भने जाहेरवाली र प्रत्यवादी होटेलको कोठामा गई लामो समय सम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनि अदालतमा बकपत्र गरेका थिए । आरोपित पंगेनीले समेत आफूहरू होटेलमा बसेको तर करणीको प्रयास नगरेको बयान दिएको अदालतले जनाएको छ ।

अदालतको आदेशमा आशय यस्तो छ– अन्य प्रमाणबाट घटनास्थलमा गएको अबस्था पुष्टि भएको र निजले दिएको जाहेरीका आधारमा हालसम्म थुनामा रहेका प्रत्यबादीले आफुलाई केही नगरेको भन्ने जाहेरवालाको बकपत्रको आधारमा प्रत्यबादीलाई सफाई दिदै झुठो जाहेरी दिइ पुर्वाग्रह साध्ने जाहेरवालालाई फौजदारी न्यायप्रणालीको दुरुपयोग गरेकोे भन्दै जाहेरवालालाई कैद गरी निजबाट झुठो जाहेरीको आधारमा थुनामा बसेका प्रत्यबादीलाई क्षतिपुर्ती भराउनेगरी फैसला भएको छ ।

यस्तो फैसलापछि झुटो र पुर्वाग्रहि जाहेरी दिने प्रबृत्तीमा सुधार हुने अपेक्षा अदालतले लिएको देखिएको छ । यसको पुर्णपाठ भने केही समयपछि मात्रै आउने अदालतले जनाएको छ । फैसलामा अदालतको फैसला चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने समेत न्यायाधीश रावलले गरेको फैसलामा उल्लेख छ ।