ला लिगा : रियल शीर्ष स्थानमा

ला लिगा : रियल शीर्ष स्थानमा
बिहिबार, असार ११, २०७७

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा मालोर्कालाई हराउँदै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरेका थिए । शीर्ष स्थानको रियलले ६८ अंक जोड्न सफल रह्यो । बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टू हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

पछिल्लो नतिजाले मालोर्का रेलिगेशनमा झर्ने सम्भावना प्रबल बनेको छ । मालोर्का २६ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा छ । घरेलु मैदानमा १९ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको थियो । रामोसले ५६ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

मालोर्काले १५ बर्षिया युवा खेलाडी लुका रोमिरोलाई रियलबिरुद्ध डेब्यु गराएको थियो । उनी स्पेनिस ला लिगाका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । रियलको तर्फबाट ग्यारेथ बेलले पहिलो पटक अवसर पाएका थिए । गत फेब्रुअरीपछि पहिलो पटक प्लेईङ सेटमा अवसर पाएका उनले खेलमा प्रभाव देखाउन असफल रहे ।

लिगमा ७ चरणको खेल बाँकी रहदाँ रियलले लिगमा अग्रता बनाउन सफल भएको छ । रियल सन् २०१७ पछि पहिलो पटक लिग उपाधि जित्ने अभियानमा छ ।