बुन्डेसलिगा : फराकिलो जितसँगै बायर्नलाई च्याम्पियन ट्रफी

बुन्डेसलिगा : फराकिलो जितसँगै बायर्नलाई च्याम्पियन ट्रफी
आइतवार, असार १४, २०७७

एजेन्सी- जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ ।

सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३७ औं मिनेटमा माइकलले गोल गर्दा पहिलो हाफमा बायर्न २-० ले अघि रह्यो ।

खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खादै मैदानबाट बाहिरिदा घरेलु टिम १० खेलाडीमा समेटियो ।

माइकललाई पेनाल्टी क्षेत्रमा लडाएपछि उनलाई रेफ्रीले रातो कार्ड र बायर्नलाई पेनाल्टीको मौका दिएका थिए ।

उक्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । उनको यो लिगमा सिजनको ३४ औं गोल समेत हो । उनी यस सिजनको लिगमा सर्वाधिक गोलकर्ता हुन् ।

त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

वोल्फ्सबर्गको घरेलु मैदानमा फराकिलो जितसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ । बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।