भाटभटेनी ग्रुपको २ करोड सहयोगमा भाटभटेनी मन्दिरमा सत्तल निर्माण गर्ने

भाटभटेनी ग्रुपको २ करोड सहयोगमा भाटभटेनी मन्दिरमा सत्तल निर्माण गर्ने
सोमवार, असार १५, २०७७

काठमाडौं । भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गर्न लागेको जानकारी दिए ।

भवनको शिलान्यास उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले मीनबहादुर गुरुङ धन मात्रै होइन मन पनि भएको व्यक्ति भएको र गुरूङलाई धन र मन दुवै भएको व्यक्तिका रुपमा चिन्ने गरेको भन्दै प्रशंसा गरे ।

उनले सरकारले व्यवसायीलाई सहजीकरण गर्ने भन्दै भने, “हाम्रापुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्छ । हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे । हाम्रा कारणले नष्ट हुँदैछन् । तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ । सत्तलमा विगतमा जस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ । दृष्टान्तको रुपमा यो सत्तल रहन्छ । हाम्रा पुराना चिजहरुको संरक्षण हामी आफैँले नै निर्माण गर्नुपर्ने हुन्छ ।”

कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गर्दै प्रसंशा गर्दै वडाध्यक्ष रमेश डंगोलले समेत भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताए । उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन् ।

कार्यक्रममा गुरुङले भने, “भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपर मार्केट्स खोल्यौं, अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिरको हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।”