सुनको मूल्य बढेपछि सुनचाँदी बजार सुनसान

सुनको मूल्य बढेपछि सुनचाँदी बजार सुनसान
सोमवार, असार १५, २०७७

काठमाडौं । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिंदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । आज तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना विक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरुले बिवाहको सिजनमा पनि अत्यावस्यक गरगहना बाहेकका कुनैपनि गरगहना विक्री नभएको बताएका छन् । सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन ।

सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा विक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन् ।