चौरजहारी नगरपालिकाले ल्यायो पिसिआर मेसिन

चौरजहारी नगरपालिकाले ल्यायो पिसिआर मेसिन
सोमवार, असार १५, २०७७

रुकुम । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पिसिआर मेसिन खरिद गरेको छ ।

छिमेकि देश भारत र अन्य तेस्रो मुलुकवाट जिल्ला प्रवेश गरी क्वारेन्टिनमा वसेका नागरिकहरुको स्वाव संकलन गरी जाँचका लागि पिसिआर मेसिन खरिद गरिएको नगरपालिकाले वताएको छ ।

यसअघि क्वारेन्टिनमा वसेका स्थानीयहरुको स्वाव संकलन गरी प्रदेश राजधानी सुर्खेत र दाङ लगायतका जिल्लामा पठाउनुपर्ने र स्वाव पठाएको हप्तौंसम्म पनि रिपोर्ट आउन ढिला हुने बाध्यता रहेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट आएको टोलिले मेसिन जडानको काम गरिरहेको र छिट्टै परीक्षणको काम हुने चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए । उनका अनुसार पिसिआर मेसिन १ करोड २३ लाखको लगानीमा ल्याईएको हो ।

मेसिन जडान गरी सञ्चालनमा आएपछि रुकुम, सल्यान, जाजरकोट र डोल्पा जिल्लाबाट संकलन भएको स्वाव परिक्षण गरेर छिटो छरितो रिपोर्ट आउने विश्वास लिइएको छ । जिल्ला आयुवेर्दिक अस्पतालको भवनमा जडान गर्न लागिएको पिसिआर मेसिनबाट दैनिक ९६ जनाको स्वाव परिक्षण गर्न सकिने बताईएको छ ।