धान दिवश, समृद्धिको नारा, किसानका समस्या जस्ताको त्यस्तै

धान दिवश, समृद्धिको नारा, किसानका समस्या जस्ताको त्यस्तै
सोमवार, असार १५, २०७७

जयन्ती पुडासैनी
काठमाडौं, आज असार १५ अर्थात १७ औँ धान दिवस किसानहरुले आफना खेतमा धान रोपेर हर्षोल्लासका साथ मनाएका छन् । नेपाली समाजमा असार पन्ध्रलाई मानो रोपेर मुरी उव्जाउने महिनाको रुपमा लिइन्छ ।

धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि नाराका साथ यस बर्षको धान दिवश मनाइएको छ ।

हिलो माटोमा असारे गितका साथमा किसानहरु असार पन्ध्रमा मात्रै नभइ महिना भरिनै धान रोप्न व्यस्त हुने गर्दछन । तर कोरोना भाइरसको महामारी र सलह किराको त्रासका कारण यस बर्ष बिगत बर्षमा जस्तो असार १५ मा खेतमा किसान को उपस्थिती भने देखिएन ।

२०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको भएपनि धान उत्पादनमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

यस्तै खेतीलाई आधुनिकिकरण र यान्त्रीकरण गरेर उत्पादकत्व वढाउने सरकारी नीति भएपनि हालसम्म पनि नेपालमा परम्परागत खेती गरिदै आएको छ । त्यसो त खेतिको विकासका लागि उन्नत जातको बीउ समेत किसानको पहँुच पुग्न सकेको छैन ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । धान खेतीको क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । कुल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको

यस वर्ष असार १५ सम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको नेपाल कृषि अनुसन्धान परिषदले जनाएको छ ।

कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने साथै जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिने सरकारी व्यवस्था भएपनि सबै किसान सरकारी सुबिधा प्राप्त गर्नबाट भने बञ्चित छन् ।

नेपाल विश्वमानै सबैभन्दा बढी धान उत्पादन गर्ने देश मध्ये १७ औँ स्थानमा रहेको छ । देशको कुल गार्हस्थ उत्पादनमा २६ दशमलव ५० प्रतिशत अंश कृषिको रहेकोमा धानको १५ दशमलव ३५ प्रतिशत योगदान रहेको कृषि विभागले जनाएको छ ।

नेपालमा वार्षिक ५० देखि ५५ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । त्यसैगरि वार्षिक करिब ७० लाख मेट्रिक टनसम्म धान खपत हुने गर्छ । बिभागका अनुसार चामल आयातमा वर्षेनी करिब ३० अर्ब रुपैयाँ बाहिरिने गरेको छ ।

देशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको प्रमुख योगदान रहेको उत्पादकत्व वृद्धिका लागि ठोस पहल हुन सकेको देखिदैन । औपचारीक कार्यक्रम र भाषणभन्दपनि कृषि क्षेत्रलाई आधुनिकिकरण गरी उत्पादकत्व वढाउनका लागि ठोस पहल गर्न आवश्यक छ ।