कोरोना महामारीको चरम रूप देखिन बाँकी रहेको डब्लुएचओको चेतावनी

कोरोना महामारीको चरम रूप देखिन बाँकी रहेको डब्लुएचओको चेतावनी
मङ्लबार, असार १६, २०७७

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या डेढ करोड पुग्न लागेको छ। जम्मा ६ महिनामा ५ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

कोरोना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेको छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ।

तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेको चेतावनी दिएको छ।

डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् ।

सोमबार भर्चुअल ब्रिफिङमा उनले भने– ‘हामी चाहन्छौं यो सबै (संकट)चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’

उनले महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया तथा जापानको बाटो अवलम्बन गर्नुपर्ने सल्लाह दिएका छन्, जहाँ लगातार परीक्षण अनि परीक्षणको नीति अपनाइएका छन्।