स्कर्पियो दुर्घटनामा आमा छोराको मृत्यु

स्कर्पियो दुर्घटनामा आमा छोराको मृत्यु
मङ्लबार, असार १६, २०७७

मकवानपुर, नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत् भरतपुर महानगरपालिका २९ सत्रकिलोमा सोमबार साँझ स्कर्पियो दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ ।

गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै सवार बा १३ च ५९२९ नम्बरको स्कर्पियो दुर्घटनामा परि ज्यान गुमाउनेमा ४७ वर्षीया प्रभा पौडेल र उनका छोरा १९ वर्षीय अनुज धितालको भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

मृतक आमा छोरा भएको प्रहरीले जनाएको छ । स्कर्पियोलाई भारतीय एनएल ०१ क्यू ५१०६ नम्बरको ग्यास बुलेटले ठक्क दिएको थियो ।

दुर्घटना सख्त घाइते भएकी प्रभाको उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर ल्याउने क्रममा सोमबार साँझ बीचबाटोमै मृत्यु भएको थियो ।

छोरा अनुजको भने मेडिकल कलेजमा उपचारको क्रममा आज मंगलबार बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

स्कर्पियोमा कृष्णसहित पत्नी प्रभा पौडेल, छोरा अनुज, छोरी वर्षा धिताल र चालक राजन घिमिरे सवार थिए ।

दुर्घटनामा परी चालक घिमिरे गम्भिर घाइते भएका छन् । उनको टाउको र छातीमा चोट लागेको छ । कृष्ण र छोरी वर्षाको स्वास्थ्य अवस्था सामान्वय रहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।