लकडाउन अवधिको रकम असुल्दै झापाका निजी विद्यालय

लकडाउन अवधिको रकम असुल्दै झापाका निजी विद्यालय
मङ्लबार, असार १६, २०७७

पुजन घिमिरे, शिशिर चम्लागाई

झापा-कोरोना भाइरस संक्रमणका कारण मुलुक नै अस्तव्यस्त भइरहेका बेला झापामा सञ्चालित निजी विद्यालय भने लकडाउन अवधिको पनि रकम असुल्न लागि परेको छ । बिर्तामोडमा सञ्चालित लीटल फ्लावर इंलिस स्कूलले मासिक रकम तिर्न भन्दै अभिभावकलाई ताकेता शुरु गरेको छ ।

बिर्तामोडमा रहेको लिटल फ्लावर इंलिस स्कूलले अभिभावकलाई पठन–पठान नभएको लकडाउन अवधिको मासिक शूल्क तिर्न ताकेता सुरु गरेको छ । विद्यालयले नयाँ भर्ना खुलेको जनाउदैं वैशाख र जेठ महिनाको मासिक शुल्क वापतको रकम तिर्न भन्दै मोवाइलमा म्यासेज तथा विल पठाउन शुरु गरेको हो ।

लकडाउनका कारण देशभरि नै विद्यालयको पठन पाठनका साथै अन्य शैक्षिक गतिविधि पूर्णरुपमा ठप्प भएको अवस्थामा समेत मासिक शुल्क तिर्न भन्दै विद्यालयले ताकेता गर्न थालेपछि अविभावक मोहन शिलवाल छक्क परेका छन् । नपढाएको समयको समेत बील पठाएको विषयमा विद्यालयका सञ्चालक राजेश खड्काले आफूहरुले जवरजस्ती नभई तिर्न सक्ने अभिभावकलाई मात्रै रकम तिर्न भनेको बताएका छन् ।

लकडाउनका समयमा निजी विद्यालयका शिक्षकहरुलाई तलव दिनु पर्ने भएकाले अभिभावकले शुल्क नतिरे सरकारले निजी शिक्षकहरुलाई तलव दिनुपर्ने उनको तर्क छ । यता, विर्तामोड नगरपालिकाले भने बिद्यालयले मनोमानी ढंगले रकम तिर्न अभिभावकको नाममा रसिद काटेको जानकारी आफूहरुले प्राप्त गरेको भन्दै सरकारको आधिकारिक निर्णय बेगर विल काटेको प्रमाणति भए कारवाही गर्ने चेतावनी दिएको छ ।

सरकारी स्तरमै निजी विद्यालय सञ्चालकसँग समन्वय भइरहेको र त्यसैको निर्णयको आधारमा मात्रै अन्य गतिविधि सञ्चालन गर्न निजी विद्यालयलाई नगरपालिकाले सुझाव दिएको छ । कोरोना भाइरसको वढ्दो संक्रमण र लकडाउनका कारण विद्यार्थीहरुलाई विद्यालय पठाउने नपठाउने भन्ने विषयमा अभिभावक चिन्तित भइरहेका वेला मनोमानी ढंगवाट रकम तिर्नु पर्ने भन्दै रसिद पठाउने यस्ता विद्यालयलाई कानूनी दायरामा ल्याउनुपर्ने अविभावको माग छ ।

अविभावको ढाड सेक्नेगरी निजी विद्यालयले यस्ता गतिवधि संचालन गर्दासमेत थाहा नपाएझै गर्ने सरकारका निकायहरुको मौनता पनि रहस्यमय बनिरहेको छ ।