प्रयोगशाला र पिसिआर मेसिन थप्ने प्रदेश ५ सरकारको निर्णय

प्रयोगशाला र पिसिआर मेसिन थप्ने प्रदेश ५ सरकारको निर्णय
मङ्लबार, असार १६, २०७७

रुपन्देही-प्रदेश नम्बर–५ सरकारले प्रदेशका बिभिन्न जिल्लामा फैलिईरहेको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन प्रदेशका बिभिन्न स्थानमा प्रयोगशाला र पिसिआर मेसिनको संख्या थप गर्ने निर्णय गरेको छ ।

प्रदेश पाँचको सरकारले कोरोना भाईरस परिक्षणको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाईरस परिक्षण ल्याव स्थापना गर्ने भएको छ ।

यसैगरि भैरहवा, दाङ र बाँकेमा हाल संचालनमा रहेका प्रयोगशालामा पिसिआर मेसिन थप गर्ने र स्वाव परिक्षणलाई तिब्रता प्रदान गरिने सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले कोभिड १९ को संक्रमण फैलिईरहेको र संक्रमितको दर बढ्दै गैरहेकोले प्रदेशका बिभिन्न स्थानमा नयाँ प्रयोगशाला स्थापना गर्ने र संचालनमा रहेका प्रयोगशलामा नयाँ पिसिआर मेसिन थप गर्ने बताए ।

प्रदेशमा संचालनमा रहेका ३ वटा प्रयोगशाला र त्यहाँ उपलब्ध उपकरणबाट हालसम्म स्वाव संकलनको चाप धान्न नसक्ने अवस्था आएपछि प्रयोगशाला र पिसिआर मेसिनको संख्या बढाउने निर्णय गरिएको मन्त्री बरालले बताए ।

कोरोना भाईरसको संक्रमण बढेसँगै संकलन गरिएका नमुना स्वावको चाप प्रयोगशालामा अध्यधिक रहेकोले समस्या उत्पन्न भएको थियो । नयाँ प्रयोगशाला र थप गरिएका पिसिआर मेसिनबाट स्वाव परिक्षण शुरु गरिएपछि एकै दिनमा रिपोर्ट दिन सकिने अवस्था सिर्जना हुने प्रदेश सरकारको विश्वास छ ।