रुपन्देहीमा सलह किराको आतंक, बाली नष्ट

रुपन्देहीमा सलह किराको आतंक, बाली नष्ट
मङ्लबार, असार १६, २०७७

रुपन्देही- रुपन्देहीमा सलह किराको आतंक फैलिएको छ । तरकारी तथा खाद्यान्न बाली बिनास गर्ने सलह किरा गत शनिबारदेखि नेपालमा प्रवेश गरेर उत्पात मच्चाउन थालेपछि कृषि क्षेत्रमा सन्त्रास उत्पन्न भएको छ ।

लाखौंको संख्यामा एकैपटक आउने फट्याङग्रा जातको बाली बिनासकारी किराले रुपन्देहीको भैरहवा, मणिग्राम, बुटवल, सैनामैना, देवदह लगाएतका क्षेत्र बाली नष्ट गरेको भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास विज्ञ श्रीधर ज्ञवालीले बताए ।

फट्याङग्रा प्रजातीको सलह किराले सम्पूर्ण कृषि तथा फलफुलका बिरुवा, खाद्यान्न तथा तरकारी बालीको डाँठको बोक्रासम्म खाईदिने भएकाले चिन्ताको बिषय बनेको वरिष्ठ कृषि बिकास अधिकृत ज्ञवालीले बताए ।

यसको नियन्त्रणको लागि बिषादी छर्ने, तार जालीको प्रयोग गरि संकलन गरि नष्ट गर्ने, चर्को आवाज निकाल्ने बस्तुको प्रयोग गर्ने र आगो बालेर धुँवा निकाल्ने लगाएतका कार्यहरु गर्न सकिने अधिकृत ज्ञवालीले बताए ।

गत शनिवार बिहानदेखि देखा परेको सलह किरा तराईको विभिन्न सीमाबाट प्रदेश पाँचका रुपन्देही, नवलपरासी, कपिलबस्तुमा प्रबेश गरि पाल्पा, गुल्मी लगाएतका जिल्लामा समेत पुगेको छ ।

सलह किराको नियन्त्रणका लागि प्रदेश सरकारले सलह किरा संकलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।