अध्यक्ष प्रचण्डले मागे प्रधानमन्त्रीको राजिनामा, अन्य नेताको पनि समर्थन

अध्यक्ष प्रचण्डले मागे प्रधानमन्त्रीको राजिनामा, अन्य नेताको पनि समर्थन
मङ्लबार, असार १६, २०७७

काठमाडौं-सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

आजको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको एक नेताले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न समेत गरेका थिए ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम समेतले सरकारले काम गर्न नसकेको र त्यसले पार्टीलाई गम्भीर धक्का लागेको जनाएको उनले बताए ।

भारतीय राज्यसंयन्त्र वा दूतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।

शुक्रबार र शनिबार सीमा समस्यालगायतका विषयमा केन्द्रित भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दूतावासले बैठकहरु गरेको भन्ने अभिव्यक्ति दिएपछि सोही विषयतर्फ मोडिएको उनले बताए ।