कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
बुधबार, असार १७, २०७७

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठकमा  पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका बारेमा छलफल हुँदैछ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले फागुन ७ गतेदेखि शुरु हुने महाधिवेशन समयमै सम्पन्न गर्ने गरी तल्लो तहको आन्तरिक कार्यतालिका परिमार्जन गर्ने प्रस्ताव पेश गरेको छ ।

कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने गरी प्रस्ताव पेश गरेको हो । यही विषयमा आजको बैठकमा छलफल हुने जनाइएको छ ।

यसैबीच मंगलबारको बैठकले  सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ ।

बैठकले सोही अनुसार संसदमा प्रस्तुत हुन पार्टीको सङ्घीय संसदीय दललाई निर्देशसमेत गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरीत रहेको निष्कर्ष निकालेको छ ।

यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुन सक्ने प्रबल सम्भावना रहने काँग्रेसको तर्क छ । यस सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीको तर्फबाट काँग्रेसका सांसदहरुले फरक मत राखिसकेका छन् ।