पार्टीमा देखिएको विवाद समाधानमा नेकपाका नेताहरु कसले के भने ?

पार्टीमा देखिएको विवाद समाधानमा नेकपाका नेताहरु कसले के भने ?
शुक्रबार, असार १९, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीतिक संकट गहिरिएपछि नेकपाका नेताहरुले पार्टी एकतामै जोड दिन शीर्ष नेताहरुलाई सुझाएका छन् ।

उनीहरुले एकता कायम राख्न र मिलेर अघि बढ्न शीर्ष नेतालाई दबाब दिएका छन् ।

स्थायी कमिटी बैठकमा देखिएको विवाद र पार्टी–सरकारबीच विवाद र संकट गहिरिएपछि पार्टी एकता जोगाउन दबाब दिएका हुन् ।

उनीहरुले सामाजिक सञ्जालमा, दुई पक्षीय बहुपक्षीय छलफल र वार्ताहरुमा शीर्ष नेताहरुबीच सहमति हुनपर्ने तर्क गरेका छन् ।

नेकपा प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकतामा जोड दिन आग्रह गरेका छन् ।

प्रदेश नं. ५ का मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो । हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो त्यसको रक्षागर्नु दुबै अध्यक्षको कर्तव्य हो ।’ लेखेका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले शीर्ष नेतादेखि दोश्रो र तेश्रो तहका नेताहरुसम्म छलफल गरिरहेका छन् ।

यसैगरी पूर्व सञ्चारमन्त्री समेत रहेका नेपाका नेता गोकुल बाँस्कोटाले पनि शीर्ष नेताहरुबीच सहमति हुनुपर्ने मा जोड दिएका छन् ।

उनले लेखेका छन्- ‘म फेरि भन्छु-गणितले हैन, पार्टीअध्यक्षकाे निर्णयले नेकपा बनेकाे हाे।विधानलेअल्पमत वहुमत हैन सहमति भन्छ। महाधिवेशन गराैं, भाेटिङ गराैं। आफ्नापाला नबजेकाे एकब्यक्ति एकपदकाे नरसिङ्गा बाजा महाधिवेशनमै बजाउँ र स्थापित गराैं । अध्यक्ष प्रम, सांसद मन्त्री, केस सांसद , प्रदेश र जिल्ला नेता मेयर नबनाैं ।’

त्यस्तै, अनेरास्ववियुको पूर्व अध्यक्ष किशोर विक्रम मल्लले पनि घनीभूत छलफल गरेर समसयाको समाधान गर्नुपर्ने लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘घनिबुत छलफल गरौं, राजनौतिक आग्रह, पुर्वाग्रह बिर्सिएर जसरी हुन्छ, जनतामा एकताको सन्देश प्रवाह गरौं ।’

त्यस्तै, उनले पार्टी एकताको लागि ,गाउॅं गाउॅं, टोल टोलका कार्यकर्ता बाट खबरदारी गर्नुपर्ने भनेका छन् ।