प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा पनि प्रदर्शन

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा पनि प्रदर्शन
शुक्रबार, असार १९, २०७७

कास्की-प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज पोखरामा प्रदर्शन भएको छ । कडा झरीको पर्वाह नगरी पोखराको चिप्लेढुंगामा ओलीको पक्षमा प्रदर्शन भएको हो ।

उनीहरूले केपी ओलीलाई हटाउन नहुने, पाँच वर्ष उनैलाई सरकार चलाउन दिनुपर्नेलगायतका माग गरेका थिए । अँध्यारो कोठे बैठक बसेर ओलीलाई हटाउन लागेको भन्दै उनीहरूले आपत्ति प्रकट गरेका थिए ।

उनीहरूले पार्टीका अन्य नेताहरूलाई लक्षित गर्दै भारतीय विस्तारवादी र भारतीय दलालहरूले प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको भन्दै यसबाट सचेत हुनुपर्ने बताए ।

प्रदर्शमा सहभागीहरूले ‘फेर्नुछ चाँडै देशको मुहार, हाम्रो भविष्य हाम्रो सरोकार’, ‘आज होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘जब रहन्छ चन्द्र सूर्य डुब्ने छैन हाम्रो स्वाभिमान’, ‘नागरिकता विधेयक पारित गर’, लगायतका नारा लगाएका थिए ।

झरीमा रुझेर कार्यर्ताले प्रदर्शन गरिरहँदा नेताहरू कोही पनि सहभागी नभएको भन्दै केही कार्यकर्ताहरु रुष्ट बनेका थिए । प्रदर्शनका सहभागी कार्यकर्ताले अहिलेको परिस्थितिमा सरकार परिवर्तन गर्नु नहुने भन्दै कुनै व्यक्ति र गुटको पक्षपोषणमा नलाग्न आग्रह गरेका थिए ।

नेताहरूले आह्वान गरेपछि झरीको पर्वाह नगरी प्रदर्शनमा सहभागी हुन आएपनि प्रदर्शनको आह्वान गर्नेहरू नै नदेखेको भन्दै कार्यकर्ताहरु खिन्न देखिएका थिए ।