नेकपा विवाद मिलाउन स्थायी कमिटी बैठकअघि नै निर्णायक छलफल हुँदै

नेकपा विवाद मिलाउन स्थायी कमिटी बैठकअघि नै निर्णायक छलफल हुँदै
शनिबार, असार २०, २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफलमा जुट्दैछन् ।

आज डाकिएको स्थायी कमिटी बैठकअघि हुने अध्यक्षद्वयको निर्णायक संवादले विवाद हल हुने अपेक्षा गरिएको छ ।

शुक्रबार भएको छलफल सकारात्मक भए पनि निचोडमा नपुगेकाले स्थायी कमिटी बैठकअघि दुबै अध्यक्ष छलफलमा जुट्न लागेका हुन् ।

शुक्रबारको छलफलमा सहमतिको मिलनबिन्दु खोजी गर्न दुवै अध्यक्ष सहमत भए पनि दुवै आ(आफ्नै अडानमा रहँदा निकास हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने दाहालले दुईमध्ये एक पद छोड्न सुझाव दिएको बताइएको छ ।

ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।