काठमाडौंको ढलमा पनि भेटियो कोरोना भाइरस, थप सचेत रहन सुझाव

काठमाडौंको ढलमा पनि भेटियो कोरोना भाइरस, थप सचेत रहन सुझाव
शनिबार, असार २०, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा ढलमा कोरोना भाइरस पाइएको छ । सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्सलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लागेको हो ।

ढलमा कोरोना भाइरस भएको अनुसन्धान गरेका मुख्य अनुसन्धानकर्ता डा. दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्र ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको जनाकारी दिएका हुन ।

डा कर्माचार्यका अनुसार काठमाडौं उपत्यकाका एकसय घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानमा ढलको नमुना लिइएको थियो । त्यसमध्ये २ स्थानमा ढलको पानीमा कोरोना भाइरस भेटिएको हो ।

काठमाडौंमा ढलमा कोरोना भाइरस भएको पाइएपछि विज्ञहरुले काठमाडौं उपत्यकामा कोरोना भाइरस फैलिएको हुनसक्ने आशंका गरेका छन् ।

एकदुइ जना संक्रमित मात्रै भएको अवस्थामा दिसापिसाब बग्ने ढलको पानीमा कोरोना भाइरस नदेखिनुपर्ने जनस्वास्थ्य विज्ञ डाक्टर समीरमणी दीक्षित बताउँछन् । डा दीक्षितका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएकाले नै ढलको पानीमा कोरोना भाइरस भेटिएको हो।

‘काठमाडौं उपत्यकामा ढलको पानीमा कोरोना भाइरस भेटिएको छ । ढलमा आउने दिसापिसाब नै हो । एकजना संक्रमित भएर मात्र ढलमा भाइरस देखिदैन । यो अध्ययनले देखाएको सामुहिक रुपमा कुनै समाजमा कोरोना भाइरस छ भन्ने संकेत हो,’ डा दीक्षितले भने, ‘त्यसैले गर्दा समाजमा कोरोना भाइरस छैन भन्न मिल्दैन। हिजो आज मात्र होइन समाजमा केही समय अगाडी देखि कोरोना भाइरस छ भन्ने संकेत छ ।’

उक्त अध्ययनले काठमाडौंमा समुदायमा कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै सरकारले सबैलाई कोरोना परीक्षण गराउनुपर्ने डा दीक्षितको तर्क छ ।

‘यो अध्ययनले समुदायमा कोरोना हुनसक्छ, अब सबैजनाको परीक्षण गर्न जरुरी छ,’ डा दीक्षितले भने, ‘ आत्तिने होइन, समाजमा कोरोना संक्रमण छ, अब परीक्षणको दायरा बढाउनुपर्छ, यो आकस्किम रुपमा आएको होइन, विस्तारै आएको हो, राज्यले अब यसले पाउने उसले नपाउने भन्न भएन, परीक्षण गर्न चाहने सबैले कोरोना परीक्षण गर्न पाउनुपर्छ ।’