गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध

गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध
शनिबार, असार २०, २०७७

गोरखा- गोरखामा कोरोना सङ्क्रमणपछि मुत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

पालुङटार नगरपालिका ७ का एक पुरुषको आज बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनको शव गोरखा नगरपालिका वडा नम्बर १२ र शहीद लखन गाउँपालिका १ को सीमा लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो ।

तर दुवै नगरपालिका स्थानीयले दिनभर शव व्यवस्थापनमा अवरोध गरेका छन् । प्रहरीले तीन घण्टाको अवरोध हटाएपछि शव व्यवस्थापन टोलीले खाल्डो खनेको भए पनि स्थानीयको विरोधको व्यवस्थापनमा समस्या उब्जिएको हो ।

प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाउने र शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।

कोरोनाले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध हुँदा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनमा जुटेको छ । शव व्यवस्थापनमा अवरोध गर्नेलाई लक्षित गरेर प्रहरीले सुरुमा चार सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।

असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।

सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो मापदण्ड पूरा गरेर शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।