स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा : महानिरीक्षक ज्ञवाली

स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा : महानिरीक्षक ज्ञवाली
शनिबार, असार २०, २०७७

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)स्थित प्रहरी युक्ति तालीम महाविद्यालय सुनवल–११ जर्गाहाको नवनिर्मित मुख्य प्रवेशद्वारको आज उद्घाटन गर्दै ज्ञवालीले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका क्रममा नेपाल प्रहरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि दिनरात नभनी अग्रमोर्चामा खटिएको बताए ।

महाविद्यालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको पाँच लाख रुपैयाँ आर्थिक सहयोगमा रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्रीले नगरको सुशासन, पूर्वाधार विकास र कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि महाविद्यालयले महत्वपूर्ण सहयोग गरेको बताए ।

महाविद्यालयका प्राचार्य वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले पूर्वाधारमा सहयोग गर्ने नगरपालिका तथा स्थानीयवासीमा धन्यवाद ज्ञापन गरे ।