ढलको पानीले कोरोना भाइरस सर्दैनः स्वास्थ्य मन्त्रालय

ढलको पानीले कोरोना भाइरस सर्दैनः स्वास्थ्य मन्त्रालय
आइतवार, असार २१, २०७७

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने दावी गरेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी गरेका हुन् ।

सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्समा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लगाएको थियो । काठमाडौंमा ढलको पानीमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चारमाध्यमहरुमा उक्त विषयमा समाचार प्रकाशित भएको थियो ।

डा गौतमले ढलको पानीमा कोरोना भाइरस भेटिए पनि यसले समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए । उनले ढलको पानी सरसफाइ गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षाका सामाग्रीहरु लामो गाउँन, बाक्लो पञ्चा तथा बुट, मास्क र चस्मा लगाउनुपर्ने बताए ।

उनले काम गर्दा फोहोर हातले नाक मुख र आँखा छुन नहुने पनि बताए । उनले फोहोर तथा ढल सफा गरेपछि साबुनपानीले हात धुनुपर्ने पनि बताए । डा गौतमले ढल तथा फोहोर पानीबाट कोभिड १९ भाइरस संक्रमण भएको प्रमाण नभएको भएपछि अन्य रोगको जोखिम भने हुने बताए ।

उनले ढलको माध्यमबाट कोरोना भाइरस नफैलिने भएपछि ढलको पानीमा भाइसरको जिवाणु र विषाणुको पहिचान र मात्रा तय गरी त्यसको आधारमा समुदायमा संक्रमणको अवस्था बुझ्न सकिने बताए ।

उनले ढलमा कोरोना भाइरस भेटिएको विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने बताए । उनले ढलको पानीमा कोरोना भाइरस भेटिदैमा नडराउन पनि आग्रह गरेका छन् ।