धादिङका सामुदायिक विद्यालय र बस्ती पहिरोको उच्च जोखिममा

धादिङका सामुदायिक विद्यालय र बस्ती पहिरोको उच्च जोखिममा
आइतवार, असार २१, २०७७

गोमा थापा

धादिङ-वर्षायाम सुरु भएसंगै पहाडी क्षेत्रमा पहिरोको जोखिम वढेको छ । धादिङ जिल्लामा बस्ति मात्र होइन सामुदायीक विद्यालयहरु समेत पहिरोको जोखिममा परेका छन । वर्षायाम शुरु भएपछि धादिङ जिल्लाका कतिपय विद्यालय र वस्तीहरु पोहिरोको जोखिममा परेका छन् ।

बोल्न र सुन्न नसक्ने बहिरा विद्यार्थीहरु पढ्ने जिल्लाकै एकमात्रै विद्यालयको परिसरमा पहिरो खस्न थालेपछि विद्यालयको भवन नै पहिरोको जोखिममा परेको छ ।

टेवा पर्खाल अर्थात् रिटेनिङ वाल उठाएर पहिरो रोक्न सकिने भएपनि आर्थिक स्रोत नहुँदा विद्यालय समस्या परेको स्वाबलम्बी आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी बताउँछन् ।

आठ वर्ष अघि स्थापित धादिङको योे विद्यालय सुन्ने र बोल्ने क्षमता नभएका बहिरा विद्यार्थी पढ्ने जिल्लाकै एकमात्र शैक्षिक संस्था हो । कक्षा ६ सम्म सञ्चालित यस विद्यालयमा ६० जना बहिरा बालबालिकाहरु अध्ययनरत छन् । विशेष शिक्षा कार्यक्रमबाट केहि सहयोग प्राप्त भएको भएपनि अरु कुनै निकायबाट सहयोग नआएको विद्यालयको गुनासो छ ।

त्यसैगरि नीलकण्ठ नगरपालिकाको वडा नम्बर–.३ स्थित इजारा आधारभूत विद्यालय पनि पोहिरोको जोखिममा परेको छ । विद्यालय परिसरको जमिन पहिरोले झर्न थालेपछि त्यसलाई संरक्षण नगरे मध्यवर्षासम्म विद्यालय थप जोखिममा पर्न सक्ने अवस्था छ ।

विद्यालयको आर्थिक श्रोत नभएको र अभिभावकको श्रमदानले मात्रै पहिरो संरक्षण गर्न नसकिने इजारा आधारभूत विद्यालयका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ गुनासो गर्छन ।

वर्षा शुरू भएसँगै सामुदायिक विद्यालयहरू पहिरोको जोखिममा परिरहेको बेला धादिङकै नीलकण्ठ नगरपालिका वडा नम्बर–.६ सुनौलाबजारमा पर्ने कुसुन्डेमा जमिन भासिएर १५ भन्दा बढी घर जोखिममा परेका छन् ।

तीन वर्ष देखि सुनौलाबजारमा जमिन भासिन शुरू गरेको र्भपनि अहिलेसम्म कारणले जमिन भासिएको हो भन्ने विषयमा राम्रो अध्ययन हुन सकेको छैन । गत वर्षभन्दा फरक स्थानहरूमा यसपटक जमिन भासिन थालेकाले स्थानीयहरू निकै त्रसित छन् ।

बाटो निर्माणको क्रममा मानवश्रमलाई वेवास्ता गर्दै डोजर मात्र प्रयोग गर्दा डोजरले जमिन थर्काएर कमजोर बनाएको र कमजोर जमिनमा ढलको व्यवस्था नहुँदा पानी छिरेर माटो खोतलेकोले जमिन भासिएको हुन सक्ने स्थानीयको बुझाई छ ।

वर्षातको शुरुवातमै पहिरो र जमिन भास्सिएर सामुदायिक विद्यालय र गाउँहरू प्रभावित हुन थालेकाले स्थानीय तह र सरोकारवाला निकाय बेलैमा सचेत हुनु्पर्ने देखिएको छ ।