हराएका मोटरसाइकल, स्कुटर खोजी धनीलाई बुझाइयो

हराएका मोटरसाइकल, स्कुटर खोजी धनीलाई बुझाइयो
आइतवार, असार २१, २०७७

काठमाडौं-महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

प्रहरीले विभिन्न स्थानबाट चोरी भई फेला परेका २० थान मोटरसाइकल तथा स्कुटरहरु आज पत्रकार सम्मेलन गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

वरिष्ठ प्रहरी उपरीक्षक एवं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा चेकजाँचको क्रममा र केही स्थानमा बेबारिसे अवस्थामा फेला परेको बताए ।

उनले ती मोटरसाइकल तथा स्कुटरहरुको धनी खोजतलास गर्दा चोरी भएको पाइएको बताए । उनले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित धनी पत्ता लगाई आज हस्तान्तरण गरिएको जानकारी दिए ।

लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको ज्ञवालीले बताएका छन् ।