नेकपामा विवाद चुलिरहँदा चिनियाँ राजदूतको सक्रियता, माधव नेपालसँग भेट

नेकपामा विवाद चुलिरहँदा चिनियाँ राजदूतको सक्रियता, माधव नेपालसँग भेट
सोमवार, असार २२, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किँदै जाँदा चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।

उनले आइतबार साँझ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन् ।

यसअघि पनि वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई भेटेकी थिइन् । अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी छिन् ।

आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छैन । तर, नेकपामा विवाद बढेको यो समयमा यान्छीले बढाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ।

ओली र दाहालबीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए।

ओली र दाहाल मिलन भए पनि नेपाल कतै नमिल्ने हो कि भन्ने आशंका भइरहेका बेला यान्छी नेपाल भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।